१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको स्पष्ट भएको प्रदीप ज्ञवालीको भनाई


प्रदिप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको बताएका छन् । यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिरहेको ज्ञवालीले बताए ।

आज आइतबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकपछि ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू एक्लैले भएपनि विश्वासको मत दिने बताएर नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको बताएका हुन् ।

एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवाली सहितका नेताहरुले आइतबार बिहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए । भेटमा विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीबारे छलफल भएको थियो ।

ज्ञवालीका अनुसार नेता नेपालले एउटा विन्दुमा पुगिसकेको हुनाले आफूले देउवालाई मत दिने बताएका थिए । यद्यपि पाल समूहबाट कार्यदलमा रहेका नेताहरुले सहमति अनुसार जे गर्दा पनि संस्थागत रुपमा निर्णय गर्नुपर्ने बताएका थिए ।

‘आज पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थियौं । उहाँले एक्लैले भएपनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनु भएका साथीहरुले त्यो उचित नहुने र जे कुरा गर्दा पनि संस्थागत निर्णयबाट गर्न पर्ने कुरा राख्नुभयो,’

ज्ञवालीले थप्दै भने, ‘तर उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसिकिने बताउनुभयो । त्यसको तात्पर्य उहाँले एमालेलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन भन्ने देखिायो । माधव कमरेड बेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट देखियो । ’

ज्ञवालीले भने, ‘उहाँको टिममा रहेका साथीहरुले पनि प्रयत्न गरिरहनुभएको छ । हामीले कार्यदलमा रहँदा हस्ताक्षर फिर्ता नलिने । तर १० बुँदेपछि अब संस्थागत निर्णय हुनुपर्छ भनेका छौं । कार्यदलतहमा देउवालाई विश्वासको मत दिन दिने विषयमा हाम्रो समहमति भएको हैन । यो कुरामा जान सकिँदैन भनेर साथीहरुले भन्नुभयो । उहाँहरुले प्रयास गरिरहनुभएको छ । कुनै परिणाम आयो भने बेग्लै कुरा अन्यथा माधव नेपाल एउटा निष्कर्षमा पुग्नुभएको हाम्रो बुझाइ छ ।’

नेकपा एमालेले दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

बैठक सकिएपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको स्पष्ट पारे ।

उनले सम्भव भएसम्म अरु दललाई पनि देउवालाई विश्वासको मत नदिन आग्रह गरिने उनले बताएका छन् । उनले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरेपनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अस्वीकार गरेको बताए ।

उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको समेत बताए । एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए ।

नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ । उनले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !