२५ बैशाख २०८१, मंगलबार

माधव नेपालले भने- निरंकुश प्रवृत्तिको अङ्कुश लाग्यो, जनताको जित भयो


माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले निरंकुश प्रवृत्तिमा अङ्कुश लागेर जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको विजय भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘आजको प्रतिनिधिसभाको घटनाले निरंकुश प्रवृत्तिमा अङ्कुश लाग्यो, जनताको जित भयो । संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।’ सर्वोच्चको फैसलाको जित भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ ।

नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताएका छन् । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको भए पनि त्यो असफल भएको उनले बताए ।

देउवालाई विश्वासको मत दिने नेपाल समूहका सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी रहेका छन् ।

यस्तै विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !