२३ बैशाख २०८१, आइतबार

ओलीनिकट भातृ संगठनले माधव नेपालको घर घेर्ने तयारी, सुरक्षा बढाइयो


माधव नेपाल

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट भातृ संगठनले एमालेका नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।

बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गरेका थिए।

उनीहरूले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए । अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए ।

भक्तपुरको बालकोटस्थित आफ्नो घरमा पुगेपछि निवर्तमान प्रधानमन्त्री ओलीले छोटो सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधव नेपाललाई लाजशरम हराएका मानिसहरू भनेका थिए । ओलीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू ।’

उनले यसो भन्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । ओलीले पार्टीका वरिष्ठ नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको आरोप समेत लगाए ।

उनले पार्टीका नेताहरूलाई गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने बताएका थिए । तर माधव नेपालका हकमा गल्ती कमीकमजोरी स्वीकार्य कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो । उनले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !