२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने वामदेव गौतमको माग


वामदेव गौतम

काठमाडौँ । नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् ।

उनले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका लागि सभाले प्रस्ताव पारित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेता गौतमले भने, “राष्ट्रियसभामा यदि हलले आवश्यकता ठान्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामी आज यो पास गरौँ, आगामी आर्थिक वर्षको बजेट वक्तव्य यहीँ आएर अर्थमन्त्रीले प्रस्तुत गर्नुस् । यहाँबाट छलफल गरेर पारित गर्न पाइयोस् ।”

संविधानमा प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको मानमर्यादामा कमी नरहेको र यसमा सिङ्गो राष्ट्रको प्रतिनिधित्व रहेको उनले बताए । “अहिले प्रतिनिधिसभा छैन, सङ्घीय संसद्को अभिन्न अङ्गका रुपमा रहेको राष्ट्रियसभाले सदन बाहिर प्रस्तुत गरेको बजेटलाई किन मान्नुपर्ने ? यहीँ बजेट प्रस्तुत हुनुपर्छ”, उनले भने ।

पार्टीको घोषणापत्रअनुसार अघिल्ला तीन वर्षमा बजेट नआएको विचार राख्दै नेता गौतमले घोषणापत्रअनुसार चल्ने कि मनमौजी किसिमले अघि बढ्ने भनी प्रश्न गरे । सामाजिक सुधार आफ्नो पार्टीको परम्परा र पहिचान भएको उल्लेख गर्दै उनले बजेटमा समाजवादको खाका नसमेटिएको टिप्पणी समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !