२५ बैशाख २०८१, मंगलबार

कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत अभियानमा लाग्न माधवको आह्वान


माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता माधवकुमार नेपालले जननेता मदन भण्डारीलाई सम्झदै कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियान लाग्न आह्वान गरेका छन् ।

आज एमाले तत्कालीन महासचिव समेत रहेका जननेता स्वर्गीय मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै नेता नेपालले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

नेपालले अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गरेका छन् ।

उनले यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दु:ख- सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको बताएका छन् ।

नेपालले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् सबैका लागि दु:खद अवस्था भएको टिप्पणी समेत गरेका छन् ।

नेपालले विद्यमान वैचारिक-राजनैतिक-सांस्कृतिक-आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !