२० बैशाख २०८१, बिहिबार

पार्टी छोडेका नेता-कार्यकर्तालाई माओवादी केन्द्रद्वारा पार्टीबाट निस्कासन


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तामाथिको थप कारबाही अघि बढाएको छ ।

आज बिहान बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी छोडेका नेता तथा कार्यकतालाई यसअघि गरिएका कारबाही अनुमोदन गर्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह तथा वडाहरूमा पार्टीको तर्फबाट निर्वाचन जितेर आएका तर पछिल्लो समय पार्टी परित्याग गरेका सबैलाई कारबाही अनुमोदन गरेको हो ।

केन्द्रले यसअघि नै पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको थियो । तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट भने बुझाएको थिएन । आजको बैठकले अनुमोदन गरेसँगै अब थप कारबाही सहितको विवरण अद्यावधिक गर्न आयोगमा पठाउने बताइएको छ ।

नेकपा माओवादी केन्द्रको आज भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले १४ जना स्थानीय तहका पदाधिकारीलाई पार्टीबाट निस्कासन गरेको छ । २०७४ सालमा माओवादी केन्द्रको टिकट लिएर चुनाव जितेका १४ जना स्थानीय तहका पदाधिकारीलाई माओवादी केन्द्रले निस्कासन गरेको हाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !