१४ बैशाख २०८१, शुक्रबार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, जोगियो काँग्रेसको सरकार


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मतको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएसँगै गण्डकी प्रदेशमा नेपाली काँग्रेसको सरकार जोगिएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न समर्थवान भएका हुन् । प्रदेशसभामा आज उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

गण्डकी प्रदेशसभामा कूल ५९ सदस्य रहेकामा विश्वासको मतका लागि ३० सदस्यको समर्थन आवश्यक पर्दथ्यो । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकामा मतदान प्रक्रियामा पनि ५८ जना नै सहभागी भए ।

जेठ २९ गते शनिबार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले एक हप्तापछि आज विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए । नेपालको संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप आफूलाई सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री पोखरेललाई काँग्रेसका १५ जना, माओवादीका ११ जना, जनमोर्चा र जनता समाजवादीका २/२ जना र १ जना स्वतन्त्र सांसद गरी ३१ जना सदस्यले विश्वासको मतका पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !