१४ बैशाख २०८१, शुक्रबार

खनाल-नेपाल समूहले पनि बोलायो केन्द्रीय समिति बैठक


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक आव्हान गरेको छ । एमालेभित्र बढ्दो टकरावबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणकाबारे छलफल गर्न कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट भोलि बिहीबार बिहान ११ बजेलाई बैठक बोलाएको हो ।

खनाल-नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको निष्कर्ष निकालेकै बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।

नेपालनिकट दोस्रो पुस्ताका केही नेता पार्टी अध्यक्ष केपी ओली पक्षीय नेताहरुसँग अनौपचारिक संवादमा रहेकै बेला नेपालले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । जबकी ठीक यही बेला संस्थापन पक्षले पनि खनाल-नेपाल लगायत शीर्ष नेताबाहेक धेरैभन्दा धेरै नेता कार्यकर्ता समेटेर पार्टीलाई एकढिक्का राख्ने रणनीति बनाएको छ ।

दुवै समूहका फरक फरक रणनीतिले माले एकता दिनप्रतिदिन धरापमा पर्दै गएको छ । नेता नेपालले बुधबार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने ठाँउ नरहेकाले अब वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताएका थिए ।

बैठकमा नेपालले संसद पुनस्थापनाको सम्भावना देखेपछि ओलीले फेरि पार्टी एकताको कार्ड फालेको समेत सुनाएको विद्यार्थी संगठनका एक नेताले बताए । उनका अनुसार नेपालले ओलीसँग कुनै ठोस प्रगति नभएको, ओली सच्चिने संकेत नमिलेको र फेरि जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !