२० बैशाख २०८१, बिहिबार

विपक्षी गठबन्धन सांसदको हस्ताक्षरसहित रिट हाल्न अदालत जाँदै


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गर्ने कदम र वैकल्पिक सरकार गठनको दाबी खारेजविरुद्ध विपक्षी गठन्धन आज सोमबार सर्वोच्च अदालतमा रिट दायर जाँदैछन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।

हिजो आइतबार नै रिट हाल्न अदालत जाने भनिएपनि आवश्यक सबै कागजपत्र तयार पार्न ढिलाइ भएपछि आज सोमबार मात्रै अदालत जान लागेका हुन् ।हिजो विपक्षी गठबन्धनका शीर्ष नेताबीच सर्वोच्च अदालतमा रिट दायर गर्ने बारेमा संसद भवन वानेश्वरमा वैठक बसेको थियो ।

हिजो संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी नपुगेका कारण भोलि सोमबार विहान १० देखि ११ बजेका बीचमा आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !