२० बैशाख २०८१, बिहिबार

विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै, १४९ सांसदलाई नागरिकतासहित बोलाइयो


माधव नेपाल फाइल फोटो

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना १४९ सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी (जसपा) को डा.बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सांसदहरूले सर्वोच्चमा रिट दायर गर्ने भएका हुन् ।

कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । सांसदहरूलाई आफ्नो नागरिकता र सम्भव भएसम्म निर्वाचन आयोगले दिएको प्रमाणपत्रसमेत लिएर आउन भनिएको छ ।

१४९ जना सांसद्हरूसहित प्रधानमन्त्रीमा प्रस्तावित देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने भएका हुन् ।

वैकल्पिक सरकार बन्‍ने अवस्था हुँदाहुँदै शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनको निर्णय गरेको भन्दै दलहरूले विरोध गरिरहेका छन् । देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकारको दाबी गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेकोमा दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !