२२ बैशाख २०८१, शनिबार

मध्यरातमा बालुवाटारमा बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही समयपछि मन्त्रिपरिषद्को बैठक शुरु हुन लागेको एक मन्त्रीले जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् । यससँगै अब संसद भंग गरेर मध्यावधि चुनावमा जाने निश्चित भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !