२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी


चन्द्रबहादुर खड्का

देउखुरी । राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गर्नुभएको थियो ।

नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित हुनुभएको थियो । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उहाँ काङ्ग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।

दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उहाँहरुले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताउनुभयो । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् ।

यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ भने अम्बरबहादुर डाँगीले राजीनामा दिनुभएको छ । यस्तै कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !