२५ बैशाख २०८१, मंगलबार

बहुप्रतिक्षित संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी


संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आज आइतबार बिहान बस्ने गरी बैठक बोलाएको बैठकमा प्रधानमन्त्री ओलीसहित प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना गरी ३ जनाको मात्र सहभागिता रहेको छ ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषदको बैठकमा सहभागी नहुने बताइसकेका छन् ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने प्रवल सम्भावना रहेको छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र समावेशी आयोगमा पनि पदाधिकारी रिक्त छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हालै जारी गरेकी थिइन् । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्काे बैठक स्थगित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !