१४ बैशाख २०८१, शुक्रबार

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, राजनीतिक दल विभाजन अध्यादेश ल्याउने सम्भावना


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान मात्रै ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए ।

यसरी एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्‍न गएका ओलीले शीतलनिवासवाटै मन्त्रिपरिषद्‌ बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ ।

यद्यपि एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार भने टुंगो लगाएको छैन । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएलगत्तै ओली शीतल निवास पुगेका थिए ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले थप अध्यादेश ल्याएर राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष जारी गर्न सिफारिस गर्ने प्रवल सम्भावना रहेको एमाले उच्च स्रोतले नेपालपत्रलाई संकेत गरेको छ ।

सोका लागि उनले आज बिहीबार राष्ट्रपति भण्डारीसँग छलफल गरिसकेका छन् । बालुवाटार स्रोतका अनुसार राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनेबारे समेत छलफल भएको छ ।

आफू सत्तामा टिकिरहनका लागि ओलीले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बुझिएको छ । साथै आज बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्णय गर्नसक्ने सम्भावना समेत रहेको छ ।

प्रधामन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन प्रतिनिधिसभाजो विशेष अधिवेशन बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीविरुद्ध मत दिने निर्णय गरिसकेका छन् भने जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले विश्‍वासको मत नदिने निश्चित जस्तै छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओली अत्तालिएर गुहार माग्दै देउवाको निवासमा पुगेका थिए ।

बैठकपछि हिजो नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेपनि कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्दै सो प्रस्तावलाई अस्वीकार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !