२५ बैशाख २०८१, मंगलबार

पार्टीको बैठक छाडेर अनिल झा पुगे दिल्ली


anil-jha

१४ फागुन, काठमाण्डौ । पार्टीमा प्रदेश तथा केन्द्र सरकार गठनको रस्साकस्सी चलिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा आइतबार दिल्ली पुगेका छन् ।

दुई नम्बर प्रदेश सरकारको पूर्णता दिन तथा संघीय सरकारमा सहभागिको विषयमा बबरमहलमा तीन दिनदेखि बैठक जारी रहेको छ तर, उनी बैठक छाडेर दिल्ली गएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपाल विद्यार्थी संगठन (भारत) ले आयोजना गरेको सम्मान तथा साँस्कृतिक कार्यक्रममा भाग लिनका लागि उनी त्यता गएका हुन् ।
सबै अध्यक्ष मण्डलका सदस्यहरु बैठकमा नहुँदा निर्णयमा समस्या भएको बताइएको छ ।

पहिलो दिनको बैठकमा पार्टीका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा र शरतसिंह भण्डारीको उपस्थिति थियो । राजकिशोर यादव र महेन्द्र राय यादवको अनुपस्थितिका कारण त्यो दिन पनि केही निर्णय हुन सकेन ।

दोस्रो दिन शरतसिंह भण्डारी पनि बैठक छाडेर जिल्ला हिडेका थिए । तेस्रो दिनको बैठकमा महेन्द्र राय यादव र राजकिशोर यादव उपस्थित भएपछि अनिल झा र शरतसिंह भण्डारी अनुपस्थित भए । त्यो दिन पनि केही निर्णय हुन सकेन । बैठक जारी रहेकै बेला अनिल कुमार झा दिल्ली उडे भने शरतसिंह भण्डारी जिल्लामा गए ।

तेस्रो दिनको बैठकबाट पनि केही निर्णय गर्न नसकेपछि आज चौथो दिन पनि राजपा नेपालको बैठक बस्न गइरहेको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, ‘सामूहिक नेतृत्व र निर्णय प्रणालीमा चल्ने पार्टी भएका हुनाले सबै उपस्थित नहुँदा निर्णय गर्न गाह्रो भइरहेको छ । यद्यपी सबैको सुझाव आइसकेको छ आज भोलीसम्ममा कुनै न कुनै निर्णय हुन्छ ।’

राजपा नेपालले दुई नम्बर प्रदेशमा मन्त्री चयन गर्न बाँकी रहेको छ भने संघीय सरकारमा सहभागि हुने कि नहुने विषयमा निर्णय गर्न बाँकी छ ।-रातोपाती


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !