१५ बैशाख २०८१, शनिबार

नेपाल-खनाल समूहलाई प्रधानमन्त्री केपी ओलीले दिए यस्तो ‘धम्की’

ओलीले भने, 'समूहगत रुपमा कुनै पनि सम्झौता हुँदैन'


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई मान्यता दिन नसकिने दावी गरेका छन् । ओलीले पार्टीभित्र गुटगत गतिविधि नगर्न नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको बताए । उनले भने, ‘पार्टीलाई क्षति नहोस् भनेर नै अहिले सम्झाई–बुझाई गर्नेमा केन्द्रित छु ।’

आज बिहीबार नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन बल्खुमा विहीबार विहान पार्टी कार्यालयको भवन शिलान्यास गर्दै ओलीले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले आफू पार्टीकै हितका लागि अगाडि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले समूहगत रुपमा कुनैपनि सम्झौता नहुने बताउँदै भने, ‘मेरो संवादको प्रयासलाई कमजोरी नठान्नु होला ।’ बुधबार बरिष्ठ नेता माधव नेपालसँगको संवादलाई जोड्दै उनले भने, ‘गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव छैन ।’

ओलीले भने, ‘उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारबाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौँ भनेका हुन् ।’ ओलीले थपे, ‘यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !