१५ बैशाख २०८१, शनिबार

कर्णालीमा मन्त्रीमण्डल पुनर्गठन : फ्लोर क्रस गरेकोले एमालेवाट निष्काशित भएका ३ जनाले पाए मन्त्री पद


नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । हिजो शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले ३ जना मन्त्री नियुक्त गरेका हुन् ।

एमालेवाट निष्काशन भएका ३ जना नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको हो ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले पार्टीका ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा मतदान गर्ने ३ जना सांसदलाई पार्टीबाट निष्काशित गरेको थियो ।

पार्टीका सांसदहरु तीनै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको प्रेस व्यक्तव्यमा उल्लेख गरिएको थियो ।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निष्काशन गरिएको हो भने अर्का सांसद प्रकाश ज्वालालाई पनि निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो प्रदेशसभा बैठकमा विश्वासको मत पाएका थिए । उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको थियो ।

अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् । मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने पनि तयारी गरेका छन् ।

यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समाली रहेका थिए । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ भोलि आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

अन्तत: कर्णालीका ३ सांसद एमालेबाट निष्काशित, ज्वालालाई कारवाही गर्न केन्द्रलाई पत्र पठाउने

कर्णालीमा एमाले संसदीय दलको बैठक जारी, फ्लोर क्रस गर्ने सांसदमाथि कारवाही गर्ने

यी हुन् कर्णालीमा माओवादीको सरकार जोगाइदिने एमालेका ४ सांसदहरु

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेलाई आफ्नै सांसदले दिए धोका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !