१२ बैशाख २०८१, बुधबार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेलाई आफ्नै सांसदले दिए धोका


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन् । आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो । शुक्रबारको बैठकमा उपस्थित ३७ जना सांसदमध्ये विश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् ।

मतदान हुनुअघि शाहीले आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकासका लागि गरिरहेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै कर्णालीको विकासका लागि इमान्दारिताका साथ काम गरेको उनको भनाई राखेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्ने भएपनि आजको बैठकमा ३७ जना मात्र सांसद उपस्थित रहेका थिए ।

एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य असफल भएको छ । एमाले एक्लैले बहुमत पुर्याउन सक्ने बहुमत आफ्नै सांसदले धोका दिएपछि तुहिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !