१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद तत्कालको लागि जोगियो, अविश्वास प्रस्ताव फिर्ता


डोरमणि पौडेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएसँगै धरापमा परेको उनको मुख्यमन्त्री पद तत्कालको लागि जोगिएको छ ।

गत पुस १० गते पौडेलविरूद्ध तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै ३ जना मन्त्रीले राजीनामा दिएका थिए । नेकपा माओवादीको २३ जना र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

तर मंगलबार प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ । नेकपा एमालेकी सांसद रचना खड्काले मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको बताइन् । फरक परिस्थितमा अविश्वास प्रस्ताव दिइएको थियो । अहिले पार्टी एक भएको अवस्थामा परिस्थिति फेरिएको छ, त्यसैले अविश्वास प्रस्ताव फिर्ता लिन लागेको उनले बताइन् ।

खनाल-नेपाल समूहका २२ जना सांसदहरुमध्ये १/२ जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !