२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान


राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणको लागि आज सोमबार बंगलादेश प्रस्थान गरेकी छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान गएकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी हुन् । काठमाडौँ बङ्गलादेश उडान अनुमानित १ घण्टा १० मिनेटको हुनेछ । राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मङ्गलबार अपराह्न ४ः५५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरे ।

सो अवसरमा मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।

उनी स्थानीय समय अनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् । त्यहाँ पुग्दा उनलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्ने छिन् । सोही दिन भोलि उनका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीको बंगलादेशको राजकीय भ्रमण के के विषयमा हुँदैछन् सम्झौता ?

राष्ट्रपति भण्डारीको बंगलादेशको राजकीय भ्रमण दलमा को को जाँदैछन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !