२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीको बंगलादेशको राजकीय भ्रमण के के विषयमा हुँदैछन् सम्झौता ?


राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणको लागि आज सोमबार बंगलादेश जाँदै छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । सरकारका प्रवक्ता गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने मन्त्री गुरुङले जानकारी दिए । साथै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने उनले बताए । उनले बङ्गलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ ।

सरकारले नेपाल र बङ्गलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्री गुरुङले पर्यटनसम्बन्धी समझदारीमा समेत हस्ताक्षर गरिने बताए ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको उक्त भ्रमणबारे यही चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै यस भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने बताएका थिए ।

बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।

नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले छिमेकी र अन्य मुलुकसँग पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याउँनाका साथै आपसी उच्चस्तीय भ्रमण तथा सम्बन्ध विस्तारको क्रमलाई निरन्तरता दिँदै आएको छ ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पुरानो सभ्यता भएको नयाँ देश बङ्गलादेशमा हुन लागेको राष्ट्रपति भण्डारीको यस भ्रमणको विशेष महत्व हुने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानबाट हालै प्रकाशित ‘नेपाल-बङ्गलादेश सम्बन्ध’ नामक पुस्तकका लेखक श्रेष्ठले दुई मुलुकबीच बहुढाँचाको सम्पर्क सञ्जाल र ऊर्जा आपूर्तिमाथि छलफल भएका बेला भ्रमणको महत्व रहने बताए । बङ्लादेशसँग बन्दरगाहसम्मको पारवहन मार्ग नेपालका लागि अपेक्षित रहेको र नेपालमा उत्पादित बिजुली बङ्गलादेशको खाँचो भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !