१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले खरेललाई हटाएर बडाललाई किन नियुक्त गरे महान्यायाधिवक्तामा ?


केपी ओली, रमेश बडाल र अग्नि खरेल

काठमाडौँ । अग्नि खरेलको राजीनामाको मसी सुक्न नपाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले अग्नि खरेललाई हटाएर उनको ठाउँमा रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । बडालको आइतबार सपथग्रहण राखिएको छ । निवर्तमान महान्यायधिवक्ता अग्नी खरेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेलगत्तै सरकारले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरेको हो ।

सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि निकै असहज महसुस गर्दै आएका खरेलले केही समयअघि राजीनामा दिन खोजेतापनि केहि कारणले रोकिएको थियो ।

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो । उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो ।

त्यो समयमा उनले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए । पहिला ओलीको दाहिने हात भएका खरेल अहिले देब्रे हात जस्तै भएका छन् भने बडाल अहिले ओलीको दाहिने हात भएका छन् ।

बडाल प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका ओली निकट कानुन व्यवसायी मानिन्छन् । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड-नेपालको पक्षमा उभिँदा बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो साथ दिएका थिए ।

उनी निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए । बडाललाई महान्यायाधिवक्ता बनाएर ओलीले त्यो गुन तिरेका छन् ।

यो पनि पढ्नुहोस्

रमेश बडालले कसरी बाजी मारे महान्यायाधिवक्ताको पद ?

अग्नि खरेलको राजीनामापछि नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

प्रधानमन्त्री ओलीले किन हटाए महान्यायाधिवक्ता अग्नि खरेललाई ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन अचानक दिए पदवाट राजीनामा ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !