२५ बैशाख २०८१, मंगलबार

माओवादीको केन्द्रीय समिति बैठकले मन्त्रीहरुलाई कारबाही नगरी किन फिर्ता बोलाउने निर्णय गर्यो ?


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको केन्द्रिय समितिको बैठक कुनै महत्वपूर्ण निर्णय नगरिकन सकिएको छ । बैठक पुनः भोलि सोमबार बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पुर्याएपछि माओवादी केन्द्रको बस्न लागेको केन्द्रिय समितिको बैठकले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेर नेकपा एमालेमा लागेर सरकारबाट फिर्ता नहुनेलाई माओवादी केन्द्रले कारबाही गर्ने तयारी गरेकोले विशेष चासोका साथ हेरिएको थियो ।

केन्द्रको हिजो शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता हुन र एमालेमा गएका २३ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । माओवादी केन्द्रले कारबाहीको तयारी गरेपनि उनीहरु फिर्ता नहुने मनस्थितिमा भएर कुनै स्पष्टीकरण पठाएका छैनन् ।

माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्य मन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, शहरी विकास मन्त्री प्रभु साह, खेलकुद मन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाइसकेका छन् । माओवादी केन्द्रमा नफर्कने निर्णय गरेकाहरुलाई एमालेले महत्त्वपूर्ण जिम्मेवारी समेत दिइएको छ । नेकपा माओवादी केन्द्रका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

तर माओवादी केन्द्रले उनीहरूलाई पत्र पठाएर औपचारिकता पूरा गरेको कारबाही गर्दै पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य भएका उनीहरूलाई पार्टीले हटाइसक्दा राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार सांसद स्वतः जानेछ ।

माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ । हिजो सोधेको स्पष्टीकरणको जवाफ नआएकाले औपचारिक पत्र काट्ने निर्णय गरिएको हो । पेरिसडाँडामा केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानूनी प्रश्न समेत उठ्न सक्ने भएकोले विधि पुर्‍याउन औपचारिक पत्र पठाइन लागिएको हो ।

आज आइतबारको बैठकमा विभिन्न इन्चार्जहरुले रिपोर्टिङ गरेको र सोमबार केन्द्रीय सदस्यहरुले बोल्ने श्रेष्ठले बताएका छन् । यसैगरी बैठकले आफ्नो पार्टीबाट मन्त्री रहेका सबै जनालाई फिर्ता बोलाउने निर्णय पनि अनुमोदन गरेको हो ।

आजको बैठकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीति र भावी रणनीतिहरुबारे ब्रिफिङ्ग गरेका थिए । बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए ।

अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो । नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकियाे, भोलि सोमबार पुनः बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !