२५ बैशाख २०८१, मंगलबार

प्रचण्ड भन्छन्, ‘आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ’


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक राजधानी बाहिर बुटवल पुगेर सिंह झैँ गर्जिएका छन् । बुटवलमा आज शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने संकेत गरेका छन् ।

उनले जरूरी पर्‍यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएतापनि अव हुने आन्दोलन हिंसात्मक नहुने उनको भनाइ छ । बिगतमा पनि राजनीतिमा आफूले सोचेजस्तो नहुँदा स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाई बारम्बार सम्झिने प्रचण्डले बुटवल पुगेर गिरिजा बाबु नभएकोले आफूलाई निशाना बनाइएको भन्दै गिरिजालाई फेरि एकपटक स्मरण गरेका छन् ।

उनले भने, ‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ । विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।’

प्रचण्डले संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाएका छन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२/०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको प्रष्ट पारे ।

उनले भने, ‘फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस् । लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ, रंगिन क्रान्ति ।’ उनले थप्दै भने, ‘अहिले नेपालमा यो परिवर्तनलाई उल्ट्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन, दलित, जनजातिका अधिकारलाई उल्ट्याउन निकै ठुलो षड्यन्त्र भएको छ । सो साँचो कुरा हो ।’

यस्तो क्रान्ति सबै तह र तप्काका नागरिक सडकमा निस्किएर शान्तिपूर्ण रुपमै सफल पार्न सकिने उनले बताए । गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक मन नपराउने नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यो परिवर्तनलाई उल्टाइ छाड्ने कसरत भइरहेको उनले बताए ।

उनले संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने समेत बताए । प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चेर तानाशाही प्रवृत्ति देखा परे त्यो जनताले स्वीकार नगर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !