१५ बैशाख २०८१, शनिबार

संसद् पुगेर बैठकमा नबसी प्रधानमन्त्री ओली आज पनि किन बाहिरिए ?

आज पनि संसद् बैठकमा नबसी बाहिरिए प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओली आज बुधबारको पुन:स्थापित प्रतिनिधिसभा दोस्रो बैठकमा पनि नबसी बाहिरिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् । उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।

आजको बैठकमा ७ वटा अध्यादेशहरु पेश हुने, बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेश हुने र विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भएपनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरी प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओली फर्किएपछि संसद् सचिवालयले आज बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको थियो । यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो ।

आज बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्नि सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् । गत फागुन २३ गतेको पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पनि प्रधानमन्त्री ओली संसद् भवन पुगेर बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए ।

संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक पनि संसद् भवनबाट बाहिरिएका हुन् । आखिर किन प्रधानमन्त्री ओली संसद भवन नयाँ वानेश्वर पुगेर नबसी फर्किन्छन् भन्ने चासो आम जनतामा बढेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको फागुन २३ गते बसेको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा २३ गते साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परा अनुसार प्रतिनिधिसभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिएका थिए ।

प्रतिनिधिसमाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्परा अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको नेता भट्टराईले बताएका थिए । संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र सरकारसँग परामर्श गरेर गर्नुपर्नेमा त्यसो नगरिएकामा प्रधानमन्त्रीले आपत्ति प्रकट गरेका थिए ।

संवैधानिक परिषद्को बैठक बहिस्कार गरेपछिदेखि नै सापकोटाप्रति रुष्ट ओली नेकपा एकीकरण बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटावीच तिक्तता चरम सीमामा पुगेको देखिन्छ । सम्भव भए सभामुख सापकोटालाई हटाएर एमालेवाट सभामुख बनाउने सोचमा प्रधानमन्त्री ओली भएको आंकलन गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !