१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपालप्रति ओलीको टिप्पणी : देशलाई बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल

ओलीले प्रचण्ड-माधवलाई दिए नयाँ उपमा


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिस्टर कम्फर्टेबल र अर्का अध्यक्ष माधव नेपाललाई ‘मिस्टर हेल्लो’कोे उपमा दिएका छन् । ओलीले प्रतिनिधि सभा पुनःस्थापनापछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अन्तरवार्ता र फोनमाथि कडा टिप्पणी गरेका छन् ।

आज आइतबार झापाको कमल गाउँपालिका-७ झर्काहामा चीन-नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछि कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाललाई अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउन चुनाैती दिएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना फैसला भएको दिन नेता नेपालले फोनमा हिन्दी बोलेको प्रसङ्ग कोट्याउँदै भने,‘तपाईहरूले सुन्न भयो होला नि, आपकी सहयोगसे जित गएँ भनेको? यो हामीले बनाएको होइन, उहाँको फोन हो। कसलाई फोन गरेका हुन् मलाई थाहा छैन।’

उनले हालै प्रचण्डले अन्तरवार्ता दिएको प्रसङलाई पनि कोट्याउँदै मिस्टर कम्फर्टेबल भनेका हुन् । संसद पुनःस्थापना हुनासाथ प्रचण्ड–नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै पाउ परेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने,‘अर्का जसपाले भने कुन दल हो तपाईहरुको भनेर सोधेछन्।’

प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाललाई संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर देखाउन चुनौति दिँदै भने,‘पहिला पनि फेस गरेकै हुँ, जनताबाट दुई तिहाई लिएर प्रधानमन्त्री बनेको हुँ। अविश्वास पास गर्नुभएछ भने फेरि पनि दुई तिहाई लिएर आइनेछ।’

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन् । ओलीले अदालतले संसद् पुन:स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिए ।

उनले प्रचण्ड र माधवलाई ‘झुसे बारुला’को संज्ञा समेत दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिए । उनले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको समेत बताए । उनले प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिए ।

‘शान्ति, एकता देख्न नसक्ने । बल्ल बल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो’, ओलीले प्रचण्ड माधवप्रति कटाक्ष गर्दै भने, ‘लड्डु खाँदै गर्दा हेलो …आँपको सहयोगको बहुतबहुत धन्यवाद ! कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।’

‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स’, उनले भने । ओलीले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गरे ।

‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन । जबसम्म नेपाली जनता साथमा हुन्छन्, जनताको आशीर्वाद रहन्छ । तबसम्म मुद्दा त के भो ? प्रतिनिधि सभा पुनःस्थापना भयो, के देख्नुभयो भन्दा चितवनको प्लेन चढेर काठमाडौँ आए’, प्रधानमन्त्री ओलीले केही दिनअघि सर्वोच्चको फैसलापछि प्रचण्ड र माधव नेपाल सभा छोडेर काठमाडौँ फर्किएकोमा व्यङ्ग्य गर्न समेत भ्याए ।

‘घर दक्षिणतिर छ, उनीहरु उत्तरतिर गए । सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन् । उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन् ।’ प्रचण्ड-नेपाल फागुन १२ गते काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न गएको प्रसंग कोट्याउँदै ओलीले कटाक्ष गरे ।

‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन् । त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो ? भनेपछि झसंग भएछन्’, ओलीले प्रतिनिधि सभा विघटन बदर भएपछि प्रचण्ड र माधव–नेपालले नेताहरुलाई जसपाका नेताहरुलाई भेटेको प्रसंगलाई पनि व्यङ्ग्य गर्न भ्याए ।

उनले मुद्दा लडेर आएकाहरुलाई आफूलाई हटाउन चुनौति समेत दिए । ‘केपी ओलीलाई हटाउनुस् । यदि हटाउनुभएछ भने पनि दुई तिहाई ल्याइन्छ । चिन्ता गर्नुपर्ने विषय होइन । लोकतन्त्रलाई तलमाथि हुन दिइँदैन । संविधान समयअनुसार परिमार्जन हुन्छ, तर मर्म र भावना तलमाथि गर्न दिइँदैन ।’

उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताउदै उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए । निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि ! झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।’

उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार नढल्ले बताउदै जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको तर्क थियो । उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने समेत दाबी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !