काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म प्रचण्ड-नेपाल समूहसँग सहकार्य नगर्ने भएको छ । नेपाली काँग्रेसले नेकपा विभाजनको टुंगो लागेपछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको हो ।
आज बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो । साथै बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र प्रचण्ड-नेपाल दुवै समूहबाट सत्ता सहकार्यको प्रस्ताव आएको भन्दै पार्टीका नेताहरुको राय मागेका थिए ।
अहिले सरकारमा जाने वा नेकपाका कुन समूहलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलले निष्कर्ष निकालेको हो । संसद पुनःस्थापना पछिको घटनाक्रमको विश्लेषणसँग पार्टीको आगामी रणनीति कसरी तय गर्ने भन्न विषयमा छलफल भएको हो ।
नेपाली काँग्रेसलाई जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।
यस्तै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया अगाडी नबढी काँग्रेसको भूमिका नहुने भएकोले त्यसै अनुसार आफ्नो पार्टीले सल्लाह गरेर काम गर्नुपर्ने विचार राखेका थिए । पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा धारणा राखेका थिए ।
यो पनि पढ्नुहोस्
कांग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक ?
देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?
देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?
प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?