१३ पुस २०८१, शनिबार

ओली समूहको स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी विभाजन भएपछि ओली समूहको स्थायी समितिको बैठक पहिलोपल्ट बसेको थियो । ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ ।

बैठकले चार वटा निर्णयहरु गरेको ओली समूह नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ ।

आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिए । उनले संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताए । आजको बैठकले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए ।

उनले अझै पनि प्रचण्ड-नेपाल समूहसँग एकता गरेर अगाडि बढ्न सकिने भए पनि त्यसका लागि सही विचार र नेतृत्व हुनु पर्ने बताए । प्रतिनिधिसभा विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।

ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउने बारेमा स्थायी कमिटीमा छलफल भएको जानकारी दिदै संसदीय दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनले बताएका छन् ।

आजै प्रचण्ड-माधव माधव पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्ड लगायत कसैलाई पनि कारबाही नगरिएको बताए ।

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ । अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले किन बोलाए स्थायी कमिटी बैठक ?

प्रचण्ड-माधव समूहले किन डाक्यो संसदीय दलको बैठक ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !