१२ बैशाख २०८१, बुधबार

प्रचण्ड-माधव समूहले किन डाक्यो संसदीय दलको बैठक ?

प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बस्दै


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि अबको कदमबारे सांसदहरुलाई जानकारी गराउन बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेर संसद पुनर्स्थापना गर्ने दिएको आदेशपछि उक्त समूहको संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् । बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव पक्षले दलको नेताबाट केपी ओलीलाई हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको थियो । पुनःस्थापित प्रतिनिधिसभामा प्रचण्ड-नेपाल समूहका सांसद कति छन् भन्ने पनि आजको बैठकमा उपस्थित हुनेहरुवाट प्रष्ट हुनेछ ।

कानुनी रुपमा नेकपा विभाजन भइनसकेकाले दलको नेताबाट ओलीलाई हटाउने हो भने पनि प्रचण्ड-नेपाल समूहले वैधानिक प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसबारे पनि बैठकमा छलफल हुनसक्ने एक संसदले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !