१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन : प्रेस सल्लाहकार थापा


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज मंगलबार राती सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्ने भन्दै तत्काल राजीनामा नदिने बताएका छन् ।

थापाले सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भन्दै यसले राजनीतिक समस्या समाधान नहुने बताएका छन् । उनले फैसलापछि बरु अस्थिरता बढ्ने दावी समेत गरेका छन् । साथै थापाले प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै फैसला कार्यन्वयन गर्ने जनाएका छन् ।

सर्वोच्चको फैसलापछि ओलीले नैतिकताको आधारमा राजीनामा दिन्छन् कि भन्ने अड्कलवाजी भइरहेका बेला उनले सहजै राजीनामा नगर्ने बरु संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने संकेत पनि गरेका छन् ।

फेसबुकमा थापाले लेखेका छन्, ‘सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन बरू अस्थिरता अझै बढ्ने छ। सत्ताकाे खेल बढ्नेछ’, थापाले लेखेका छन्,‘प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’

सर्वोच्चको फैसला आएलगत्तै प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो । सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !