५ जेष्ठ २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहले आयोगलाई भन्यो : नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन


प्रचण्ड-नेपाल र निर्वाचन आयोग

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ ।

निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएको उक्त समूहका नेताले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएका हुन् । आज आइतबार आयोगमा भएको बैठकमा सहभागी प्रचण्ड-नेपाल समूहका नेता लिलामणि पोखरेलले नेकपाको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ? नेकपासँग ६४ प्रतिशत मत छ । यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन’, छलफलमा आफुले राखेको धारणाबारे पोखरेलले बताए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयपछि ओली समूह र प्रचण्ड-नेपाल समूहमा दुई समूहमा विभाजित नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन । पार्टी स्थापना गर्दाको ४४१ सदस्यीय केन्द्रीय समिति भएकोलाई आयोगले मान्यता दिएको र त्यसपछि थपेका केन्द्रीय सदस्यलाई आयोगले मान्यता दिएको थिएन ।

आज निर्वाचन आचारसंहिताबारे दलका प्रतिनिधिहरूसँग आयोगले गरेको छलफलमा १४ दल छलफलमा सहभागी रहेका छन् । आयोगमा नेकपाबाट ओली समूहका नेता बाबुराम शर्मा दाहाल र प्रचण्ड-नेपाल समूहबाट पोखरेल सहभागी छन् भने नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन् ।

पोखरेलका अनुसार आयोगले निर्वाचन आचारसंहिताबारे मस्यौदा प्रस्तुत गरेको थियो । आचारसंहिता उलंघन गरेमा १ लाख जरिवाना र उम्मेवारी नै खारेज हुन सक्ने आचारसंहिता रहेको छ ।

पोखरेलले निर्वाचन आयोग सरकारको लाचार छायाँ बन्न नहुने बताएका थिए । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने उनको भनाइ थियो।

प्रचण्ड-नेपाल समूहले उठाएको यो विषयमा आयोग र त्यसका पदाधिकारी मौन छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली आयोग पुगेर निर्वाचन प्रक्रिया अघि बढाउन दवाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !