१४ बैशाख २०८१, शुक्रबार

देशको पछिल्लो अवस्थाबारे छिट्टै श्वेतपत्र सार्वजनिक हुन्छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन् । मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा उहाँले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले उत्पन्न भएको हो ? र यसले पारेको प्रभाव लगायत विषय समेटिएको श्वेतपत्र जारी गर्न लागिएको बताए ।

उनले सशस्त्र सङ्घर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, समृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको उल्लेख गरे । अध्यक्ष दाहालले भने, “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।” उनले नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताए । उनले यतिबेला सत्य र असत्य, लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको स्पष्ट पारे ।

उनले सङ्घीय संसद्मा भएका दुईतिहाइ बढीले संसद् विघटन असंवैधानिक भनेर सङ्घर्षमा रहेको जिकिर गरे । अध्यक्ष दाहालले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने पनि बताए । “अहिले हामी संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । हामी नागरिक आन्दोलनसँगै छौँ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ”, अध्यक्ष दाहालले भने “लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तै उस्तै भनेर बुझ्नु हुँदैन । संयुक्त जनपरिचालनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतसँग छलफल भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा सो समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए । प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसर भएको उल्लेख गरे । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नरहेको उल्लेख गर्दै उनले संविधानले नै नदिएको अधिकार कोही कसैले पनि प्रयोग गर्न नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !