२३ बैशाख २०८१, आइतबार

एमसिसीबारे नारा नलगाउनुस् भनेको हो, म त्यसको समर्थनमा गएको छैन : अध्यक्ष प्रचण्ड


प्रचण्ड-माधव नेपाल पत्रकार सम्मेलनमा फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को समर्थनमा नगएको प्रष्ट परेका छन् ।

आज शुक्रबार केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले एमसिसीबारे नारा नलगाउनुस् मात्र भनेको हो, एमसीसीबारे अन्तिम निर्णयमा नपुगेको बताएका हुन् ।

प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए । कार्यकर्ताले नारा लगाउने क्रममा एमसिसीविरूद्ध नारा लगाएका थिए । उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए । लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो ।

प्रचण्डले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षको बाटो छोडेर पलायन नहुने बताएका छन् । बिहीबारको आमहड्ताल केपी ओलीको स्वेच्छाचारी र संविधानविरोधी कदमका विरुद्ध आकस्मिक ढंगले गर्नुपरेको भन्दै ओली कदमविरुद्धको संघर्षबाट कोही पनि नेता पलायन नहुने बताएका हुन् ।

उनले ओलीले प्रतिनिधिसभा भंग गर्दै राज्य सत्तालाई क्याप्चर गर्न खोजेको भन्दै पछिल्लो पटक भूमि आयोग र संवैधानिक आयोगहरुमा नियुक्तिहरु गरेर लगातार संविधानमाथि आक्रमण गरेको बताएका छन् ।

उनले अहिले जारी संघर्ष ओली र प्रचण्डबीचको वा नेकपा भित्रको मात्रै लडाई नभएर लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस जसपा लगायतका दलहरु पनि सडकमा आएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !