१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा पुन:स्थापना भए स्वत: देउवा प्रधानमन्त्री : डा. भट्टराई

राष्ट्रपति र प्रधानमन्त्रीलाई दण्डित गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले प्रतिनिधि पुनःस्थापना भए नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । गोरखामा शुक्रबार पत्रकारसँगको कुराकानीमा भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका हुन् ।

साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् । उनले संसद पुनःस्थापना भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई दण्डित गर्नुपर्नेमा जोड दिएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले ओली जस्तो भष्मासुरलाई हुर्काउन भूमिका खेलेकाले प्रधानमन्त्रीका लागि लायक नहुने उनको भनाइ छ । उनले प्रचण्ड र माधवले ओलीलाई हटाएर आफूहरु आलोपालो प्रधानमन्त्री बन्छु भन्ने आशा राख्नु स्वार्थ वा पदलोलुपता देखाएको बताए ।

नेपाली काँग्रेसमा रामचन्द्र पौडेल संसद् सदस्य नभएकोले दाबेदार स्वतः शेरबहादुर देउवा भएको बताए । नेकपा विभाजनपछि जसपा तेस्रोबाट चौथो पार्टी हुने भएकाले सरकारको नेतृत्वमा दाबी नगर्ने पनि उनले बताए ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा निरुपणमा सर्वोच्च अदालतको भूमिकामा पनि भट्टराईले शंका व्यक्त गरे । विघटन प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदम भएको उनले बताए । साथै प्रतिनिधिसभा ब्यूताउन जनताले निरन्तर आवाज उठाउनुपर्ने उनले बताए ।

विघटनविरुद्ध रहेका राजनीतिक दलको संयुक्त आन्दोलन आवश्यक रहे पनि कांग्रेसमा अस्पष्टता रहेको उनको भनाइ थियो । अनधिकृत रुपमा संविधानका आधारभूत कुरा भत्काएर चुनाव हुन नसक्ने तर्क पनि भट्टराईले गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !