१४ बैशाख २०८१, शुक्रबार

सभामुख सापकोटाविरुद्ध संवैधानिक इजलासको पेशीमा चढेको मुद्दा किन हेर्न भ्याएन सर्वोच्चले ?


अग्नि सापकोटा

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । तर शुक्रबार भएकोले उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ ।

सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरासहित अन्य ४ जना वरिष्ठ न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढेपनि लकडाउनका बेला अदालत बन्द भएर मुद्दा इजलासले हेर्न भ्याएको थिएन । सापकोटाविरुद्धको मुद्दामा त्यही भदौ महिनाले लिएको पेसीको मिति आज परेको थियो ।

काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको आरोपमा मुद्दा दायर भएको थियो । २०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामालाई अपहरण गरी सोही सालको साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर ज्यूँदै पुरेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६४ सालमा जाहेरी दिएपनि प्रहरीले जाहेरी लिएको थिएन ।

उनले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त थिए । त्यसपछि उनले सर्वोच्चमा रिट हालेपछि २०६४ साल फागुन २२ गते सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भएपनि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटा विरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत सापकोटा फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । २०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको हत्यामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न आदेश दिएको थियो । सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !