१३ जेष्ठ २०८१, आइतबार

वामदेवलाई तड्पाउदै प्रधानमन्त्री ओली : वामदेवको रिसको ज्वालामुखी बिष्फोटन हुने संकेत


केपी ओली र बामदेव गौतम

काठमाडौं, भदौ २४ । पार्टीमा बामदेव गौतमलाई राष्ट्रियसभामा लैजानुपर्छ भन्नेको बहुमत हुने संकेत देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन नहुँदा नहुदै पनि आफैले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गर्न बाघ्य भए । नेकपा सचिवालय बैठक सुरु हुनुअघि भदौ १८ गते बिहीबार प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर भलाकुसारी भयो । उक्त भलाकुसारीमा प्रधानमन्त्री ओलीले गौतमलाई मैले ‘तपाईंलाई नै राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने सोच बनाएको छु’ भन्ने जानकारी दिए । तत्कालै गौतमले ‘मेरो भोलि नै शपथ हुन्छ त ?’ भनेर प्रश्न गरे । गौतमको यो प्रश्नमा ओलीको जवाफ थियो, ‘भोलि नै शपथ गराउँछु भन्ने त छैन तर म तपाईंलाई राष्ट्रिय सभामा पठाउँछु ।’

ओली र गौतमबीचको यो संवादपछि नेकपा सचिवालय बैठक बस्यो । बैठकमा पनि प्रधानमन्त्री ओलीले त्यही जानकारी गराउँदै भने, ‘मैले हाम्रो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोच बनाएको छु ।’ पछिल्लोपटक गौतमको साटो युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाउने सन्दर्भमा आफ्नै कित्तामा रहेका ईश्वर पोखरेलले समेत साथ नदिने संकेत पाएपछि सचिवालयमा लगभग एक्लिएका प्रधानमन्त्री ओलीले यसका विरुद्धमा गएर प्रस्ताव राख्दा र अभिव्यक्ति दिँदा मात्रै पनि व्यापक आलोचना हुने सम्भावना रहन्थ्यो ।

सम्भावित आलोचना टार्न मात्रै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएको पुष्टि शुक्रबारको मन्त्रिपरिषद् बैठकमा गरिदिएका छन् । गौतमलाई प्रधानमन्त्री ओलीले दिएको उक्त ‘डिप्लोम्याटिक’ जवाफको कारण खुल्न थालेको छ किनभने ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार राष्ट्रिय सभामा गौतम जान त जानेछन् तर केही समयपछि मात्रै ।

राष्ट्रियसभाको रिक्त एक पदमा सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा गराएका थिए । नेकपा सचिवालय बैठकले भदौ १८ गते बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभाको निर्वाचन हारेका बामदेव गौतमलाई नेकपा सचिवालयले राष्ट्रिय सभामा लैजाने गरेको निर्णय र उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुने गौतमले गरेको दावीलाई लिएर सामाजिक संजाल र राजनीतिक वृतमा नेकपा र गौतमको सर्वत्र आलोचना भएको छ ।

प्रधानमन्त्री ओली बामदेव गौतमलाई तडप्याएर राख्ने अनि सामाजिक रुपमा आलोचित बनाएर राष्ट्रियसभामा गौतमलाई नजाने स्थित पुर्याउने रणनीतिमा भएको अनुमान गर्न सकिन्छ किनभने गौतमलाई अडान नभएको नेताको रुपमा हेरिन्छ । यसभन्दा अघि पनि गौतमले प्रतिनिधि सभामा जान अनेक जस्केला प्रयोग गर्न खोजेपनि जनताले गरेको चर्को आलोचनाले पछि हटेका थिए ।

प्रधानमन्त्री ओलीले अरू केही दिन गौतमको सिफारिस स्थगन गरेका हुन किनकी तत्काल गौतमलाई राष्ट्रियसभा सदस्य बनाउँदा प्रधानमन्त्रीलाई कुनै फाइदा नभएकोले रोक्दा बार्गेनिङका लागि थुप्रै मौकाहरू आउन सक्ने राजनीतिक विश्लेषकहरु बताउछन् । उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापाका कारण कहिले बहुमत र कहिले अल्पमतमा पर्दै आएका ओलीले यो समय गौतमलाई सम्पूर्ण रूपमा आफ्नो पक्षमा ल्याउने रणनीतिक अवसरका रूपमा पनि लिएका छन् ।

उपाध्यक्ष गौतम पनि सरकारमै जाने तयारीसहित राष्ट्रियसभा सदस्य बन्न लागेकाले उनी सरकारमा जाँदा प्रधानमन्त्री ओली झन् अप्ठ्यारोमा पर्ने देखिएको छ किनभने गौतमले रक्षा, गृह, अर्थ, भौतिक जस्ता महत्त्वपूर्ण मन्त्रालयमा आँखा लगाएकाले उनको व्यवस्थापन गर्दा आफ्नै समीकरण भित्रका मन्त्रीलाई बिदाई गर्नुपर्ने भएकोले यस बारेमा निर्णय गर्न अलिक केहि समय प्रधानमन्त्रीलाई लागेको हो । अहिले प्रधानमन्त्री ओली पर्ख र हेरको अवस्थामा छन् । प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैतिरको हिसाबकिताब गरेर मात्रै आगामी कदम चाल्ने स्थितिमा भएको देखिन्छ ।

गत प्रतिनिधिसभा चुनावमा एमाले-माओवादी गठबन्धनमा चुनाव लड्दा पनि गौतम बर्दियाबाट पराजित भए । आफ्नो हारमा पार्टीभित्रकै अन्तर्घात देखेका वामदेवले अन्तर्घातीलाई कारवाही नगरेको भन्दै ओलीसँग रिसाएका थिए । पार्टी एकतापछि उपयुक्त जिम्मेवारी नदिइएको, शक्तिशाली विकास प्राधिकरण गठन गरेर आफुलाई जिम्मेवारी दिन गरेको आग्रह समेत अस्वीकार गरेको, उपचुनाव मार्फत चुनाव लड्न खोज्दा पनि ओलीकै कारण आफुलाई बदनाम गर्न खोजिएको भन्दै वामदेवले सम्बन्ध नै पार लगाउन खोजेका थिए ।

२०७५ को पुसमा बसेको पार्टी स्थायी समिति बैठकमै गौतमले ‘एक ब्यक्ति एक पद’को कुरा उठाएर ओलीलाई एक रोज्न चुनौती दिएका थिए । पार्टीमा उनले फरक दस्तावेज नै लेखेका थिए । सरकारले काम गर्न नसकेको आरोप पनि लगाएका थिए । त्यसपछि भने ओली र गौतमको सम्बन्धमा निक्कै चिसोपना छाएको थियो । गौतम पार्टीका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायत नेताहरुसँगको हिमचिममा जोडिए ।

प्रचण्ड, माधव नेपाल र गौतमका बीचमा छुटटै गोप्य सहमति समेत भएको चर्चा नेकपा भित्र चल्यो । त्यसपछि भने ओलीले वामदेवलाई फेरि फकाउन थालेका थिए । ओलीले गौतमको जन्मदिनमा बालुवाटारमा बोलाएर ‘केक’ काटेर सरप्राइज दिएनन मात्रै, त्यसपछि नियमित बालुवाटारमा निम्त्याएर डिनर गराउनेसम्म पनि यो बीचमा भएका थिए । ओलीतिर कहिले त कहिले प्रचण्ड नेपाल तिर लाग्दा वामदेवले पनि फाइदा पाएका छन् ।

पार्टीमा उनलाई कँहा ब्यवस्थापन गर्ने भन्नेमै पनि नेकपा धेरै पटक घुमेको छ । त्यही कारण उनले विधानमै ब्यवस्था नभएको उपाध्यक्ष पद विधान संसोधन गरेरै पाएका छन् । पार्टीको महत्वपूर्ण संगठन विभाग उनकै पोल्टामा छ । राष्ट्रिय सभामा मनोनित कोटामा पनि अहिले ओलीले लैजान तयार भएका छन् । राष्ट्रिय सभामा वामदेव लैजाने सचिवालयको यस अगाडीको निर्णयमा ओलीले नै निर्णय नमान्दा लफडा आएको थियो ।

अहिले पनि गौतमलाई आफु पछिको उत्तराधिकारी देखि सबै खालको आश्वासन ओलीले दिएका छन् । यस हिसाबले हेर्दा त गौतमलाई लाभैलाभ मात्र हात लागेको छ । ओलीको संकटमा वामदेवले नै साथ दिदै आए । ओलीको संकटमा जहिल्यै वामदेव सारथी बनेर निर्णायक क्षणमा उभिन पुग्दा ओलीको संकट टर्दै आएको छ । पहिले र अहिले पनि परिदृश्य त्यस्तै देखा परेको छ ।

प्रतिनिधिसभाको निर्वाचन हारेका वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीले प्रस्ताव समेत गरेका थिए । यस्तो प्रस्तावका कारण प्रधानमन्त्री ओली जनतामा झनै आलोचित हुनुको साथै आफ्नै समूहकै नेताहरूले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । साथै, उक्त प्रस्ताव असंवैधानिक भएको भन्दै पार्टी बाहिर पनि चर्को विरोध भएको थियो ।

वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपा सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले राष्ट्रपनि समक्ष सिफारिस गर्नुपर्ने हुन्छ तर केहि दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकमा यो बिषयमा कुनै कुरा नउठेको बुझिएको छन् । यसरी बामदेवलाई मन्त्रिपरिषद्ले राष्ट्रपनि समक्ष सिफारिस गर्न ढिलो गरी वामदेवलाई तड्पियाउदा प्रधानमन्त्री ओलीप्रति वामदेवको रिसको ज्वालामुखी बिष्फोटन हुने संकेत देखिन्छ । यदि यसो भई हाल्यो भने भोलि नेकपामा यसले कस्तो असर गर्ला भन्ने अनुमान लगाउन कठिन छ ।

यो पनि पढ्नुहोस्

ओली वामदेवलाई तड्पाउदै : वामदेव ओलीको प्रतिक्षामा

खासमा त्यो चुनाव मैले हारेको हैन : वामदेव गौतम

वामदेवलाई प्रतिनिधि सभामा लैजाने नेकपा सचिवालयको निर्णय

वामदेवलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै प्रधानमन्त्री ओली

हात्ती आयो हात्ती आयो फुस्स : वामदेवको थप बिजोग

वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !

वामदेवलाई प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु