१३ बैशाख २०८१, बिहिबार

वामदेवलाई प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव


नेकपा सचिवालय बैठक

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजीनामा दिएर उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका छन् ।

नेकपामा विवाद चर्किको बेला बुधबार सााझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।

प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ । आजको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार बैठक शुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका थिए । सरकार र पार्टी दुबै कमजोर बन्दै गएको आरोप लगाउँदै ओलीले मार्गप्रशस्त गनुपर्ने आग्रह गरेका थिए ।

प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै एउटा ‘सरप्राइज’ प्रस्ताव राखेका थिए । ओलीको आफू दुबै पद छाड्न तयार रहेको तर संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो ।

उनले कोरोना भाइरसको संकट सकिएपछि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधि सभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेकेा उनले बताएका छन् ।

तर गृहमन्त्री रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रस्ताव ठिक समयमा नभएको भन्दै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए । उनले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएको हुँदा यसमा सचेत रहेर संयम एवंम सुझबुझ देखाउन र पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन दुबै अध्यक्षलाई आग्रह गरेका थिए ।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन् । बहुमत जुटाउने खेलमा प्रचण्ड र नेपाल समूहबाट सांसदहरुको हस्ताक्षर अभियान चलाइएपछि बालुवाटारले पनि सांसदहरुलाई बोलाउँदै फकाउँदै हस्ताक्षर गर्न लगाएको हो ।

साथै पार्टीमा ३ जना अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । साथै अर्का अध्यक्ष प्रचण्डले लगाएको सबै आरोप खारेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले बताएको छ । नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष छन् ।

तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय गर्ने उनले जानकारी दिएका थिए ।

त्यस्तै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलका अनुसार आज बसेको सचिवालयको वैठकले पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने बारेमा समेत छलफल भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमणपछि नेपालको राजनीतिमा पनि हलचल नै हुने देखिएको छ । भनिन्छ कुरा र कुलो जता लागे पनि त्यतै जान्छ र मौसमको बारेमा भविष्यवाणी गर्न सकिंदैन भने झैँ नेपाली राजनीतिको भविष्य कुनै पनि माहिर राजनीतिक विश्लेषकले पनि विश्लेषण गर्न नसकिने पहले देखि नै छ । यहाँको राजनीति कति बेला के हुन्छ कसैले पनि भविष्यवाणी गर्न सक्दैनन् । दुई तिहाई बहुमतको जनमत पाएको सरकारको भविष्य त यो हालतमा आई पुगेको छ ।

यो पनि पढ्नुहोस् 

नेकपा सचिवालय बैठक सकियो, वैशाख २० गते फेरि बस्ने

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

प्रधानमन्त्री ओली पक्षधर सांसदहरुको हस्ताक्षर संकलन

प्रधानमन्त्री ओली किन पुगे संसद भवन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !