२५ बैशाख २०८१, मंगलबार

ओली-प्रचण्डबीच ३ घण्टा वार्ता : छलफललाई निरन्तरता दिने सहमति


ओली-प्रचण्ड बीच बालुवाटारमा भएको छलफल

काठमाडौँ, साउन १८ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूको छलफल सकिएको छ । आजको वार्तामा नेकपाका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर पार्टीमा उत्पन्न गतिरोध हटाउन प्रयास गर्ने बुझिएको थियो ।

नेकपा भित्र देखा परेको आन्तरिक विवाद साम्य पार्न सहमति खोज्ने उद्धेश्यले आइतबार विहान १० बजे छलफल शुरु भएको थियो । आजको छलफलमा प्रधानमन्त्री ओलीका पक्षबाट नेता सुभासचन्द नेम्वाङ र प्रचण्ड तर्फवाट झलनाथ खनाल समेत उपस्थित भएका थिए ।

आज छलफल झण्डै तीन घण्टा चलेको थियो । आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले बतायो ।

ओली, प्रचण्ड र झलनाथबीच गत १३ गते मंगलबार बालुवाटारमै कुराकानी भएको थियो । उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए ।

उक्त बैठकले आगामी स्थायी कमिटी बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो । बैठकले प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिएपनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले साउन ३ गते शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा झलनाथ र सुवास नेम्वाङलाई साक्षी राखेर ओली-प्रचण्ड वार्ता जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !