१० जेष्ठ २०८१, बिहिबार

बालुवाटारमा झलनाथ र सुवास नेम्वाङलाई साक्षी राखेर ओली-प्रचण्ड वार्ता जारी


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

काठमाडौँ, साउन १८ । व्यक्तिगत शक्ति संघर्षको कारण दुर्घटनाको संघारमा पुग्न लागेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच बालुवाटारमा वार्ता जारी रहेको छ । आजको वार्तामा नेकपाका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर पार्टीमा उत्पन्न गतिरोध हटाउन प्रयास गर्ने बुझिएको छ ।

साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले छलफलका लागि नेता खनाललाई पनि साथमा लगेका हुन् । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमले साउन १३ गते मंगलबार मात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

नेकपाको विवादका कारण पछिल्लो समय दवाव थेग्न नसक्ने अवस्थामा पुगेपछि शिर्ष नेताहरु नै अध्यक्षहरुसँग चिढिन थालेका छन् । साउन १३ गते मंगलबार बालुवाटारमा भएको स्थायी कमिटी बैठकमा सदस्य भिम रावलले प्रचण्डलाई तपाईंहरू पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ? भनेर कडा प्रश्न गरेका छन् । उनले शिर्ष नेताहरु पदको लडाई गर्ने आफुहरुको टाउको गन्ने काम भएको भन्दै आक्रोश पोखेका हुन् ।

उक्त बैठकमा पार्टी उपाध्यक्ष बामदेव गाैतमले पार्टी फुटाउने नियतले गतिबिधि नगर्न अनुरोध गरेका थिए । उनले आफ्नो प्रस्ताव अनुसार दुबै अध्यक्षले सहमति गरेर पार्टीका गतिबिधि अघि बढाउनुपर्ने बताएका छन् । भेलामा एकछिन कड्किए गौतमले प्रचण्डप्रति आक्रोश पनि व्यक्त गरे । उनले भने, ‘‘ओलीसँग तपाईंहरुको हुने पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ? तपाईंहरूको गतिबिधिले मुख देखाउन लायक भएनाैँ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले साउन ३ गते शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !