१४ बैशाख २०८१, शुक्रबार

ऐतिहासिक कामको परिणाम छिट्टै देखिन्छ : राज्यमन्त्री मानन्धर


रामवीर मानन्धर

काठमाडौँ, ९ साउन । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताउनुभएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भँैसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन पश्चात राज्यमन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘सुखी नेपाली, समृद्ध नेपाल’को मर्मअनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गर्नुभयो । उहाँ भन्नुहुन्छ, “वर्तमान सरकारकै पालामा नेपालमा ठूलो भवनका रुपमा संसद् भवन बन्न लाग्नु हाम्रा लागि महत्वपूर्ण विषय हो ।”

त्यस्तै देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनको डिजाइन भएको र संरचना निर्माणपश्चात् अन्तरराष्ट्रिय जगत्मा पनि नेपालको प्रशंसा हुने उहाँको दाबी छ । कोरोनाका कारण काममा केही अवरोध देखिएको बताउँदै उहाँले आगामी दिनमा कामले थप निरन्तरता पाउने प्रष्ट्याउनुभयो ।

अनुगमनका क्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयले निर्माण थालेका ठूला भवनहरु समयमै सकिने बताउनुभयो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले सङ्घीय संसद् भवनको बेस निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधीन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ । ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ । उक्त केन्द्र निर्माणपश्चात् राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभासम्मेलनका लागि ठूला होटलमा लाखौँ खर्च गर्नुपर्ने बाध्यता हट्नेछ ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत रहेको छ । सरसफाइका लागि समय लागेकाले केही ढिलाइ भएको मन्त्रालयका महानिर्देशक गेलालाले जानकारी दिनुभयो । १७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत रु छ अर्ब ९२ करोड रहेको छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ ।

त्यस्तै ललितपुरको सैबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ । ती भवनको निर्माणमा पनि तीव्रता दिन मन्त्री मानन्धरले निर्देशन दिनुभयो । पारदर्शी ढङ्गले काम सम्पन्न हुनुपर्ने बताउँदै राज्यमन्त्री मानन्धरले सरकारको योजनाअनुसार काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयोे । कार्यक्षेत्रमा समस्या भए तत्काल सरोकारवाला निकायमार्फत खबर गर्न आग्रह गर्दै उहाँले समस्या समाधानका लागि सधैँ तयार रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !