२६ बैशाख २०८१, बुधबार

ओली-प्रचण्ड निर्णायक वार्ता सकियो, एकताको मर्म अनुरुप अघि बढ्ने समझदारी


ओली-प्रचण्ड

काठमाडौं, असार १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको पहल सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल सहितका नेताहरुबीचको बैठकले एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।

छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए । बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

आज बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकालेपनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो । भोलि शनिबार बिहान ११ बजे बस्ने नेकपा स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपनि विवाद थप उचाइमा पुगेको छ । विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा ओली-प्रचण्ड निर्णायक वार्ता शुरु, विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !