१४ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक जारी, प्रधानमन्त्री पनि सहभागी


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, असार १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघिका दुई वटा बैठकमा प्रधानमन्त्री ओली बसेका थिएनन् ।

स्थायी कमिटी बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयासबारे सदस्यहरुले धारणा राखिरहेका छन् । यससँगै सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा पनि सदस्यहरुले बोल्ने जनाइएको छ ।

त्यस्तै, अमेरिकी सहयोग एमसीसी सम्झौता, नागरिकता विधेयक, रुकुम घटना, संघीय संसदका सदस्यहरूको भत्ताका विषयमा पनि स्थायी समितिको बैठकको एजेन्डा रहेका छन् । असार १० गतेदेखि जारी बैठकमा पहिलो दिन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । यस्तै दोस्रो र तेस्रो दिन नेपाल-भारत सीमा विवादका विषयमा सदस्यहरुले धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !