२४ बैशाख २०८१, सोमबार

शीर्ष नेताविरुद्ध नै बागी उम्मेदवार, कसका विरुद्ध को बागी !


कात्तिक १७, काठमाडौँ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुविरुद्ध बागी उम्मेदवारी परेको छ ।
सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ मा कांग्रेस पूर्व सहमहामन्त्री जोशी बागीका रुपमा खडा भएका हुन् । जोशीले स्वतन्त्र उम्मेदवारका हैसियतमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गृहजिल्ला रौतहट छाडेर काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौं एमाले जिल्ला कमिटी सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध उनकै पार्टीका नेता चन्देश्वर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्रीले बागी उम्मेदवारी दिएका छन् । दुबै पार्टीबीच गठबन्धन भएअनुसार सिट बाँडफाँट गरे पनि राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले यादवविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाविरुद्ध पनि बागी उम्मेदवार खडा भएका छन् । दुई पार्टीबीच भएको गठबन्धन सहमतिविपरीत पूर्वसांसद तथा संघीय फोरम नेपालका नेता बबन सिंहले झाविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । सिन्धुली–२ बाट मनोनयनपत्र दर्ता गराएका गजुरेलविरुद्ध माओवादी नेता रामकुमार पोखरेलले बागी उम्मेदवारी दिएका हुन् । यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । नेविसंघका नेता क्षितिज भण्डारीले श्रीमती देउवाविरुद्ध कैलाली–५ बाट उम्मेदवारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !