२० बैशाख २०८१, बिहिबार

एमसीसी पारित गर्न अमेरिकाको दबाब, सत्ता गठबन्धन संकटमा


सत्ता गठबन्धनको बैठक

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको स्रोतले जनायो ।

उता प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा अनुमोदनको लागि टेबल गराउन चाहे पनि सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति कायम गरेर मात्र आउन आग्रह गर्दै आउनुभएको छ । एमसीसीको विषयलाई सत्ता गठबन्धनभित्र सहमतिभन्दा विमति बढ्दै गएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनले निर्णय गरेपछि मात्र एमसीसीको बारेमा निर्णय गर्ने बताउँदै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नै एमसीसी पारित गराउने प्रक्रिया अगाडि बढाए पनि एमाले अहिले एमसीसीको विषयमा मौन रहँदै आएको छ ।

एमालेभित्र पनि संशोधनबिना एमसीसी पारित गर्न नहुने पक्षमा दबाब बढ्दै गएको छ । एमालेका नेता भीम रावलसहितका नेताहरू एमसीसी संशोधनबिना पारित गर्न नहुने अडानमा छन् ।

कांग्रेसले आगामी फागुन २ गते बस्ने संसद्को बैठकमा एमसीसी टेबल गर्न गृहकार्य अगाडि बढाएको छ भने माओवादी र एकीकृत समाजवादी भने आगामी निर्वाचनपछि मात्र एमसीसी अगाडि बढाउने अडानमा छ ।

यसैबीच, अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गतेभित्र नै नेपालले कम्प्याक्ट अनुमोदन हुनुपर्ने अडान दोहो¥याएको छ । एमसीसीको मुख्यालयले फागुन १६ को मिति अन्तिम भएकाले यसमा कुनै संशोधन नहुने बताएको छ ।

एमसीसीको विषयमा सत्तारूढ दलबीच बेमेल भइरहेको बेला अमेरिकाको भनाइ सार्वजनिक भएपछि नेपाल सरकार दबाबमा परेको छ । एमसीसी मुख्यालयले नेपालस्थित सरोकारवाला निकायसँग छलफल गर्दै म्याद थपको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !