१५ बैशाख २०८१, शनिबार

एक्लिए प्रधानन्यायाधीश जबरा : पद छाड्न चौतर्फी दबाब


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार नेपालको न्यायिक इतिहासमै नदेखिएको घटना भयो– १३ जना न्यायाधीश सामूहिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलासमा बसेनन् । यसले प्रधानन्यायाधीश र न्यायाधीशबीच विश्वासको संकट देखाएको छ ।

प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै सार्वजनिक रूपमा मागिएको उनको राजीनामाप्रति सर्वोच्चकै न्यायाधीशहरूसमेत ‘कन्भिन्स’ भएको देखिन्छ ।

इजलास तोकिने तर सर्वोच्चका सबै न्यायाधीश इजलासमा नबस्ने यस्तो अभ्यास प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्गप्रशस्त नगरेसम्म दोहोरिँदै जाने कानुनविद्हरूले बताएका छन् । त्यसअघि नै जबराले बहिर्गमनको बाटो रोज्नुपर्ने उनीहरूको सुझाव छ ।

संविधानविद् भीमार्जुन आचार्यले न्यायिक नेतृत्वले सही ढंगले न्यायपालिका सञ्चालन गर्न नसक्दा अहिलेको संकट निम्तिएको बताए । प्रधानन्यायाधीश जबराले आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गरेर सोमबारका लागि फुलकोर्टको बैठक बोलाएका थिए ।

सर्वोच्च अदालतका सबै न्यायाधीश, मुख्य रजिस्ट्रार र नेपाल बारका पदाधिकारी सहभागी हुने बैठकका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन र कानुन व्यवसायीहरूलाई वरिष्ठ अधिवक्ता उपाधि वितरणलाई मुख्य एजेन्डा राखिएको थियो ।

प्रधानन्यायाधीश जबराका गलत कदमका कारणले न्यायालयको स्वतन्त्रतामा सम्झौता भएकाले उनको राजीनामा आउनुपर्ने माग भइरहेका बेला जबराले विषयान्तर गर्ने प्रयास गरेको भन्दै आइतबार सर्वोच्च अदालतमा उपस्थित सबै १४ जना न्यायाधीशले त्यस्तो बैठक बहिष्कार गर्ने निर्णय गरे । उक्त निर्णयबमोजिम नै न्यायाधीशहरू सहभागी नभएपछि फुलकोर्ट बैठक बस्न सकेन ।

सोमबार जबराले १३ न्यायाधीशलाई सातवटा इजलास तोकेकोमा उनीहरू अदालत गए पनि इजलासमा बसेनन् । बरु साढे ११ बजेपछि आपसी छलफलमा जुटे । छलफलमा उनीहरूले मंगलबार प्रधानन्यायाधीशलाई भेटेर निकास दिन आग्रह गर्ने निर्णय गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले सिधै इजलास बहिष्कारको घोषणा त गरिसकेका छैनन् तर अभ्यासमा भने उनीहरूले इजलास बहिष्कार गरेसरहको प्रभाव देखिन थालिसकेको छ । सोमबार १३ जना न्यायाधीशलाई प्रधानन्यायाधीश जबराले सातवटा इजलासमा २१६ वटा मुद्दा तोकेका थिए । ६ वटा संयुक्त इजलास र एउटा एकल इजलास तोकिएकामा कोही पनि न्यायाधीशले कुनै पनि मुद्दा सुनुवाइ गरेनन् ।

उनीहरूले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशसँग सामूहिक भेट गर्ने निर्णय गरिसकेका कारण मंगलबारको इजलास पनि प्रभावित हुने देखिन्छ । ‘न्यायपालिकाको मर्यादाका लागि न्यायाधीशहरूले इजलास बहिष्कार भन्ने शब्द प्रयोग गरेको देखिन्न तर उनीहरूको आगामी कदम इजलास बहिष्कार नै गर्ने देखिन्छ,’ अर्का अधिवक्ता टीकाराम भट्टराईले भने ।

वरिष्ठ अधिवक्ता तुलसी भट्टले न्यायाधीशहरूले ‘छलफलमा व्यस्त भएको’ बताएर इजलासमा नबसेको भने पनि त्यसको परिणाम भने उनीहरूले ‘इजलास बहिष्कार गरेसरह’ भएको बताए ।

सर्वोच्च अदालत बार एसोसिएसनले पनि ‘सर्वोच्च अदालतको नेतृत्वबाट सिर्जित विश्वासको संकटका कारण सोमबार न्यायसम्पादनको कामकारबाही पूर्णरूपमा ठप्प भएको र त्यसले नागरिकको न्यायिक हक प्रचलनमा गम्भीर अवरोध सिर्जना गरेको’ ठहर गरेको छ ।

सोमबार बसेको सर्वोच्च बारको कार्यसमिति बैठकले न्याय प्रशासन सञ्चालन गर्न प्रधानन्यायाधीश जबरा पूर्णरूपमा असफल र असक्षम भएको भन्दै समुचित निकासका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ । सचिव ऋषिराम घिमिरेले सर्वोच्च बारको इतिहासमा पहिलो पटक यस्तो कठोर निर्णय गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

नेपाल बार एसोसिएसनको सोमबारै बसेको बैठकले मंगलबार सल्लाहकार समितिको बैठक बोलाउने निर्णय गरेको छ । उपाध्यक्ष रक्षा बस्यालले उक्त बैठकमार्फत प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने प्रस्ताव पारित गर्ने बताइन् ।

त्यस्तै चार जना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका छन् । सोमबार साँझ संयुक्त विज्ञप्ति प्रकाशन गरेर उनीहरूले ‘अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको’ भन्दै उनी स्वयं जवाफदेही हुनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनीकरण गर्न सघाउने भन्दै उनीहरूले त्यसो नगर्ने हो भने विधायिकी हस्तक्षेप अर्थात् संघीय संसद्बाट महाअभियोग लाग्न सक्छ भनेका छन् । पूर्वन्यायाधीश फोरमले पनि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाउँदै त्यसो नगरेमा संसद्मा महाअभियोग लगाउन आह्वान गरिसकेको छ ।

प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै डा. गोविन्द केसीले पनि सोमबार विज्ञप्ति प्रकाशन गरी प्रधानन्यायाधीशको राजीनामा मागेका छन् ।

यसअघि प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिसम्बन्धी विवाद चर्किएका बेला २०७४ फागुन २९ र ३० मा सर्वोच्चका ८ जना न्यायाधीशले पराजुलीले तोकेको इजलासमा बस्न अस्वीकार गरेका थिए । सन् २०१८ को जनवरी १२ मा भारतको सर्वोच्च अदालतका न्यायाधीशहरू कुरेइन जोशेप, जे चेलमेश्वर, रन्जन गोगई, एमबी लोकुरले तत्कालीन प्रधानन्यायाधीश दीपक मिश्राको कार्यशैलीप्रति असहमति जनाउँदै ‘प्रेस मिट’ गरेर आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

‘भारतमा त्यसरी पत्रकार सम्मेलन भएको थियो, हामीकहाँ प्रधानन्यायाधीश पराजुलीका पालामा केही न्यायाधीश इजलासमा बसेका थिएनन् । अहिले अदालतमा उपस्थित भएका सबै न्यायाधीशले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन् । उनीहरू इजलासमै नबस्ने घोषणा गरे भने त्यसले झन् भयानक अवस्था निम्त्याउँछ । मलाई लाग्छ उनीहरूसँग त्यसो गर्नॅपर्ने उचित आधार र कारणहरू छन्,’ संविधानविद् आचार्यले भने ।

सेवानिवृत्त न्यायाधीश गिरीशचन्द्र लालले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशले बोलाएको बैठक बहिष्कार गर्ने तथा इजलासमै नबस्ने जस्तो दुर्लभ र संकटपूर्ण अवस्था देखिएको बताए ।

पूर्वन्यायाधीश लालले प्रधानन्यायाधीशले राजीनामा नदिएमा त्यसले झन् ठूलो जटिलता निम्त्याउने बताए । ‘न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गरे, इजलासमा गएनन् । उहाँ (जबरा) ले पद त्याग्नुभएन भने अब बारले पनि बहिष्कार गर्छु भन्नेछ ।

अदालतका कर्मचारीले काम गर्न रोक्नेछन् । त्यसपछि मुद्दाका पक्षहरूले यस्तो विवादित प्रधानन्यायाधीशले तोकेको इजलासले हाम्रो मुद्दा नहेरोस् भन्ने माग राख्ने अवस्था आउँछ । ,’ उनले भने, ‘प्रधानन्यायाधीश पदको गरिमा जोगाउन पनि उहाँले ‘त्याग’ गरेको राम्रो हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा तुफान न्यौपानेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !