२० बैशाख २०८१, बिहिबार

गुटबन्दीले थिलथिलो कांग्रेसः अबको सभापतिमा देउवाको पराजित हुन सक्ने


शेरबहादुर देउवा File Photo

काठमाडौं । तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।

पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्य गर्नुको साटो देउवा त्यसकै दलदलमा फसेका छन्। विभिन्न स्वार्थ समूह हावी हुँदा विधिविधानअनुसार कार्यसम्पादन गर्न असफल देउवाले सहमतिबाट पनि पार्टी चलाउन सकेनन्। सहमतिबाट अघि बढ्न खोजे विधिविधान, विधिविधानअनुसार चल्न खोजे सहमतिको उल्झन देउवाले कार्यकालको सुरुदेखि नै खेप्दै आएका छन्। विगतमा देउवाले नै पार्टी नेतृत्वबाहिर छँदा नेतृत्वलाई अप्ठेरो पार्न र आफ्नो स्वार्थ पूरा गर्न केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। अहिले असन्तुष्ट पक्षले देउवाको त्यही नीति अख्तियार गरेको छ। जसले कांग्रेस गतिहीन मात्र बन्न पुगेको छैन, देउवाको भागमा अपजसमात्र आइलागेको छ।

सभापतिमा निर्वाचित भएर पनि देउवालाई पार्टीभित्रै त्यस भूमिकामा अस्वीकार गर्नु। २० वर्षसम्म कोइराला परिवारको वरिपरि घुमेको कांग्रेस नेतृत्वमा देउवा प्राविधिक रूपमा त पुगे तर विद्रोही (पार्टी विभाजन गरेर फेरि आएका) नेताकै रूपमा उनलाई हेरिँदा इतर पक्षले न काम गर्न सहयोग गर्‍यो न त भएका सकारात्मक कामको स्वामित्व लियो।

झन्डै एक वर्ष निर्वाचनमा पराजयको जिम्मेवारी कसले लिने भन्नेमै रुमलिएको कांग्रेसले संगठन सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरे पनि विवादले बीचमै रोकियो। संगठन सुदृढीकरणतिर सभापति देउवाले मात्र होइन, पार्टीभित्र प्रतिपक्षी भूमिकामा रहेका नेता रामचन्द्र पौडेल पक्षले पनि ध्यान दिएन। गनगनमै पाँच वर्ष गुजारेका देउवा इतर पक्षमा पनि एकता र विश्वास कायम हुन सकेन। देउवाविरुद्ध एकैठाउँमा उभिए पनि आआफ्ना स्वार्थले इतर पक्षमा अनेकता बढ्दो छ। १३औं महाधिवेशनपछि पार्टीभित्र तेस्रो धारका रूपमा उभिएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूह पनि गुटगत स्वार्थ पूरा गर्न संस्थापन र इतर समूहलाई उपयोगको रणनीतिमै केन्द्रित रह्यो।

पार्टी नेतृत्वमा पुगेपछि भ्रातृ तथा शुभेच्छुक संगठनहरूको महाधिवेशन गराउन सुरु गरेका देउवाले त्यसलाई निरन्तरता दिन सकेनन्। नेतृत्व समालेको पाँच वर्षमा आइपुग्दा भ्रातृ तथा शुभेच्छुक संगठनहरू भताभुंग अवस्थामा छन्। भ्रातृ संगठनको एउटा पदाधिकारीका लागि एक महिनासम्म वार्तामा बसेका कांग्रेस संस्थापन र इतर पक्षका नेताहरूले पार्टीका १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसक्दा पनि महाधिवेशन गराउनेतर्फ कुनै चासो र पहल गरेका छैनन्, बरु गुट चलाउन पार्टीका नेताका नाममा एनजिओ स्थापना गरेर त्यसको सहारा लिइरहेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !