२४ बैशाख २०८१, सोमबार

प्रचण्डलाई ओलीको नयाँ अफर, के गर्लान प्रचण्डले ?


केपी ओली र प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै दाहाललाई सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि दाहाललाई जानकारी गराएका थिए ।

आफूहरू दुईजना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता कार्यकर्ताको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । दाहालले मुन्टोमात्रै हल्लाएको केही नबोलेको स्रोतले बतायो । ‘प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव राख्दा दाहालले हाँसेर मुन्टोमात्रै हल्लाउनुभयो, प्रतिक्रिया दिनुभएन’, स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले पार्टीका बैठकहरूमा आफूले हस्तक्षेप नगर्ने र महाधिवेशनमा एकल अध्यक्षको प्रस्ताव राखेर जाने विषय पनि उठाएका थिए । प्रधानमन्त्री ओलीले दाहालसँग सहमतिका लागि पटकपटक प्रयास गरिरहेका छन् । मंसिर १९ गते साँझ टेलिफोन वार्ता समेत गरेका थिए । त्यसपछि बुधबार उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । ओली निकटका नेताहरूले पनि दाहालसँग धेरैपटक सहकार्यको प्रस्ताव राखिसकेका छन् । तर दाहालले खासै प्रतिक्रिया दिएका छैनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !