२६ बैशाख २०८१, बुधबार

यौन हिंसामा परेकी १३ वर्षीयाले बच्चा जन्माइन्


बन्धक

काठमाडौं, भदौ २६ । धनकुटामा सामूहिक यौन हिंसामा परेकी १३ वर्षीया बालिकाले छोरी जन्माएकी छन्। चारजनाको सामूहिक यौन शोषणबाट अवैध गर्भ बोकेर महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी ती बालिकाले सोमबार साँझ कोसी अञ्चल अस्पताल विराटनगरमा सुत्केर भएकी हुन्। बालिकामाथि यौनहिंसाको घटनामा संलग्न चार आरोपित पुर्पक्षका लागि कारागारमा छन्। जन्मिएको शिशु कसको हो भनेर सर्वत्र अहिले चासो र चर्चा हुन थालेको छ।

ती दलित बालिकामाथि लामो समयदेखि पटकपटक यौन शोषण गरेको आरोपमा पीडित परिवारको उजुरीका आधारमा उनीहरू पक्राउ परेका थिए। पुर्पक्षका लागि जिल्ला कारगार धनकुटामा थुनिएकामध्ये एकजना शिक्षक छन्। उनीहरूको मुद्दा जिल्ला अदालत धनकुटामा विचाराधीन अवस्थामा छ। चारैजनाले बारम्बार यौन शोषण गरेको किटानी जाहेरीमा उल्लेख छ। जाहेरि दिइसकेपछि यता पीडित बालिका महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहँदैआएकी छिन्।

हिंसापीडित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको चार महिनापछि आमा बनेकी हुन्। सुत्केरी बेथा लागेपछि आइतबार साँझ जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन लगेका थिए। तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले सोमबार कोसी अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताइन्। हिंसापीडित बालिकालाई ओसिएमसी एकद्वार संकट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रियापछि शिशु जन्मिएको उपाध्यक्ष राईले बताइन्।

बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा धनकुटा–६ सिरान बजारमा रहेको गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरिएका अन्यमा धनकुटा–६ का गौरी अत्री, भीमनारायण चोकका एक होटल व्यवसायी देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर छन्। छुट्टाछुट्टै मिसिल उठाएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जनाकारी दिए। चारैजनाले सामूहिक बलात्कार गरेको नभई छुट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलगअलग दर्ता गरिएको श्रेष्ठले बताए।

त्यसैगरी आफ्नै बुबाबाट यौन हिंसामा परी गर्भ रहेको चौबिसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्थामा रहेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !