२४ बैशाख २०८१, सोमबार

खरका छाना टल्काउँदै पाल्पाका रम्भा गाउँपालिका


पाल्पा

पाल्पा, १६ पुस । रम्भा गाउँपालिकामा अझै पनि ३३३ खरका छानासहितका घर छन् । खरका छाना बर्सेनि छाउनुपर्ने बाध्यता हुँदा बढी खर्चिलो हुँदै आएको छ । गाउँपालिकाले घरका छानासहितका घरलाई कर्कटपाताले छाइदिइने भएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् ।

चालू आव २०७६/७७ मा ३३३ घरमा खरका छाना गाउँपालिकाले हटाउने गरी काम थालेको छ । गाउँपालिकालाई यसै आवमा पूर्णरूपमा खरका छानामुक्त बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । गाउँपालिका क्षेत्रभित्र झण्डै चार हजार ५०० घरमध्ये ३३३ घर अझै पनि खरका छानासहितका रहेको भेटिएको हो । खरका छानाका घर असारपछि कर्कटपाताका छानामा बदलिनेछन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्नका लागि रु ७० लाख बजेटमार्फत काम अघि थालिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

आर्थिकरूपमा विपन्न समुदायका नागरिकका घर अझै पनि खरका छानासहित रहेका छन् । बर्सेनि छाउनुपर्दा आर्थिकरूपमा बोझिलो बन्दै गएको थियो । दक्ष कामदारको अभाव तथा छाउनका लागि डाँडाभाटाको अभाव रहेका बेला गाउँपालिकाले खरका छाना हटाई कर्कटपाताले छाइदिने भएको हो ।

गाउँपालिकाले खरका छाना रहेका घरलाई कर्कटपाता वितरणसम्बन्धी मापदण्ड निर्माण गरेको छ । कहीँकतै पनि कर्कटपाता वा पक्की घर नभई खरका छानामा बसोबास गर्नेलाई कर्कटपाता प्रदान गरिने भएको हो । नौ हात चौडाइ र १५ हात लम्बाइसहितका घरका हिसाब गरिएको छ । गाउँपालिका अध्यक्ष भण्डारीका अनुसार छ फिटका ३० पाता वा नौ फिटका २० पाता आवश्यकताका आधारमा वितरण गर्ने योजना छ ।

दुई घर रही एउटामा कर्कटपाता र एउटामा खरका छाना रहेका घरले यो सुविधा पाउने छैन । घरका गोठमा बसोबास गर्ने मानिसले यो सुविधा पाउनेछन् । अरु कुनै स्थानमा पनि कर्कटपाताका छानासहितका घर नभएकाहरुलाई यस्तो सुविधा प्रदान गरिनेछ । प्राविधिकको अनुगमनपछि मात्र गाउँपालिकाले कर्कटपाता प्रदान गर्नेछ । गाउँपालिका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष कृष्ण रेग्मीले वडाभित्र खरका छानासहितका घरको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको बताउनुभयो । हालसम्म ७२/७३ घर खरका छानासहित घर रहेको प्रारम्भिक तथ्याङ्क छ । उहाँका अनुसार यस आवमा खरका छाना हटाउने गरी काम थालिएको छ । कर्कटपाता खरीदका लागि गाउँपालिकाले बोलपत्र खोलिसकेको छ । असारसम्म सबै काम सम्पन्न हुनेगरी काम अघि बढेको हो ।

गाउँपालिकाले २८ महिनामा २८ उपलब्धि हासिल गर्न सफल बनेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खरका छाना विस्थापित गर्ने, विद्युत्, सडकलगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको गाउँपालिकाको जिकिर छ । दिवाखाजा तथा विद्यार्थीलाई दुर्घटना बीमाले गाउँपालिकाले चर्चा पाउन सफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !