२१ बैशाख २०८१, शुक्रबार

वाइडबडी खरिद प्रकरणबारे एक हप्ताभित्र छानबिन नभए नागरिक आयोग गठन गर्ने चेतावनी


डा. सुरेन्द्र भण्डारी

१५ मंसिर, काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले एक हप्ताभित्र वाइडबडी जहाज खरिद प्रकरणबारे सरकारले प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ ।

शनिबार उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरू आइरहेको बताउँदै यसका बारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने,‘वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन, असुरक्षा, हिंसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सीमा नाघेको स्थिति छ, यो बेलामा पनि हामी जनताहरूले स्व:स्फूर्त रूपमा अन्यायको विरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन, समाज दुर्गतिको बाटोमा जान्छ।’

भण्डारीले बहुलजाति र धर्मको रुपमा रहेको मुलुकको शान्ति, एकता र भातृत्वजस्ता विरासतहरू वर्तमान सरकारले धरापमा पार्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने,‘२००७ सालदेखि आजसम्म जनताले ठूलो त्याग, तपस्या र जीवनको बलिदानी दिएका छन्, तर परिर्वतन भएन र विकास भएन, राजनीतिको मूल मर्म नै मरेको स्थिति छ।’

आफूहरूले २०५२ सालमा तत्कालीन माओवादीले सुरू गरको कथित द्वन्द्वको बेलामा कब्जा गरिएको सम्पति फिर्ता गर्नुपर्ने, मदन भण्डारीका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने, वाइडबडी खरिदको बारेमा सशक्त छानबिन आयोग बनाउनुपर्ने, असमान सन्धि–सम्झौताहरू खारेज गरी समयसापेक्ष विदेश नीति बनाउनुपर्ने, राष्ट्रिय उदार अर्थतन्त्र विकास गर्नुपर्ने, स्वास्थ्य, शिक्षा लगायतका मागहरू अघि सारेको सुनाए। उनले आफूहरूको मागप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। ‘यदि सरकार गम्भीर बनेन भने यसको परिणाम ठीक हुँदैन,’उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !